काठमाडौं । नेपालका सक्रिय आठ नाट्य समूहहरुको सहकार्यमा ‘नेपाल अन्तराष्ट्रिय नाटक महोत्सव–२०७५’ आयोजना हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि कलात्मक यात्रा’ मूलमन्त्र सहित आयोजना हुने महोत्सवले सामाजिक समानता र सद्भावलाई बढावा दिनुका साथै रंगमञ्चको माध्यमबाट सामाजिक विषयहरुमा काम गर्न र अन्तराष्ट्रिय स्तरमा सांस्कृतिक आदानप्रदान गर्न कलाकारहरुलाई प्रेरित गर्ने बताइएको छ ।
महोत्सवको आयोजनाका लागि मण्डला थिएटर नेपालसहित काठमाडौंका अन्य सक्रिय नाट्यसँस्था शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेज सहकार्य गर्ने भएका छन् । आयोजकमध्ये काठमाडौँभित्रका पाँच संस्थाहरुले कलाकारहरूको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरेर विगत दश वर्षदेखि नियमित नाटक मञ्चन गरिरहेका छन् ।
नाटकघर नभएका अन्य तीन संस्थाहरु पनि लामो रंगमञ्चीय अभ्यासका कारण देशविदेशमा परिचित छन् । नेपाली रंगमञ्चमा नाट्य मेला, उत्सवहरुको अभाव भइरहँदा पनि राज्यस्तरबाट पहल नभएका कारण देशैभरिका रंगकर्मी जुटेर यस महोत्सवको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend