काठमाडौं । १५ औँ स्थापना दिवसको अवसरमा ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको समुदघाटन गरिएको छ । वैशाख २३ गते आयोजित स्थापना दिवसको विशेष कार्यक्रममा तारकेश्वर -२ स्थित काभ्रेस्थलीमा निर्माण गरिएको सहकारी भवनको समुदघाटन काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य शिशिर खनाल , बागमती प्रदेश सभा सदस्य अमन मास्केले संयुक्त रूपमा रिवन काटेर गरेका हुन् । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौडेल, कालिदेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण ओझा, विद्यालयका प्रतिनिधिहरु, विभिन्न सहकारीका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

वार्षिकोत्सब समारोहमा प्रमुख अतिथि सांसद खनालले सहकारी अभियानले समतामूलक समाजको सृजनामा सहयोग गर्ने भएकाले नेपालको संविधानमा नै सहकारीको उल्लेख गरिएको बताए । पूर्व शिक्षामन्त्री समेत रहेका उनले साम्यवाद र पूंजीवादका अपुणतालाई सम्बोधन गर्नको लागि सहकारी क्षेत्र सक्षम हुनुपर्नेमा जोड दिए। “केहि अप्ठ्यारा परिस्थिति र केही खराब नियतका साथ संचालन गरिएका संस्थाहरुमा समस्याहरु देखिए पनि ॐ शिवपुरी जस्ता सहकारी संस्थाहरुले नमूना र गर्व लाग्ने काम देखाउनुपर्छ,”उनले भने।
कार्यक्रमका विशेष अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौडेलले समुदायको विकास र आम नागरिकको जीवनस्तर उकास्न सहकारीले काम गरिरहेको बताए । ।अहिले प्रदेशबाट स्वीकृत लिई सञ्चालनमा आएका सहकारीहरुमा बढि समस्या देखिएको उनले बताए । पौडेलले ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रगति विवरण राम्रो भएकाले अब गुणस्तरीयताको सुनिश्चितता कायम गर्नुपर्नेमा जोड दिए।
सहकारीका अध्यक्ष रविन्द्र के.सि.ले २८ जनालाई विश्वासमा लिंदै करीव १८ लाखको शेयर पुंजिवाट कारोवार शुरु गरेको संस्थामा २०८० वैशाख २२ सम्म आइपुग्दा २५२३ जना शेयर सदस्य रहेका जानकारी दिए। त्यस्तै, रु ४ करोड ८९ लाख ९६ हजार शेयर पुंजी , रु ३१ करोड १० लाख ७९ हजार ७८४.४५ पैसा वचत निक्षेप, ६४२ ऋणी सदस्य तथा ३७ करोड ६० लाख ०१ हजार ५९८.५६ पैसा ऋण लगानी रहेको तथ्यांक उनले प्रस्तुत गरे। संस्थामा ५ करोड ९१ लाख ०७ हजार ८९९.७१ पैसाको जगेडा कोष रहेको छ । प्रचलित बजार मुल्यमा करिव ६ करोडको स्थीर सम्पत्ति सहितको संस्थाले कारोवारतर्फ वचत तथा ऋण वाहेक विप्रेषण सेवा, अनलाइन भुक्तानी सेवा, लगायत क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष केसिले कार्यक्रममा बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend