खबरब्रेकिंग, काठमाडौं, बैशाख १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासीने बताएका छन ।
छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन । उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताए ।
सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति, नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको बताए ।
चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम जनताको जीवनमा रूपान्तरण ल्याउनका लागि सबै पक्षसँग अपिल पनि गरेका छन् । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज देशव्यापीरूपमा छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend