तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मतदाताको गुन विकास गरेर तिर्ने बताएका हुन् ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।
आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए । ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’
तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले भारी मतसहित विजयी भएका हुन् ।
वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।
१ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो।
मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो।
गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend