शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको अध्यक्षमा तेन्जिङ्ग शेर्पा

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको अध्यक्षमा तेन्जिङ्ग शेर्पा

१६चैत ,काठमाडौं । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघमा तेन्जिङ्ग शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । संघको दोस्रो अधिवेशन तथा पाँचौ साधारणसभाले शेर्पाको अध्यक्षतामा आगामी दुई वर्षको कार्यकालका लागि नयाँ संचालक समितिको सर्वसम्मत चयन गरेको हो। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समिक विक्रम शाह निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा हिरा बहादुर लामा , दावा शेर्पा र देव आनंद सरावगी रहेका छन् । महासचिवमा बलराम गुरुङ्ग,सचिबमा दान बहादुर चन्द ठकुरी र सुकुमान बोम्जन रहेका छन। कोषाध्यक्षमा राधा पन्त र सह कोषाध्यक्षमा राजेश कुमार रायमाझी निर्वाचित भएका छन् ।

संघको अधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मुख्यसचिव शंकरदास बैरागीले नेपाली गलैंचाको निर्यात बढाउनको लागी उत्पादन लागत घटाउनुपर्ने र गुणस्तर बढाएर प्रतिस्पर्धि क्षमता बढाउनुपर्ने बताए । देशको अर्थतन्त्र बलियो बनाउन सरकार र व्यवसायी मिलेर अघि बढ्नुपर्ने उनले बताए । उनले सात वटै प्रदेशमा रहेका गलैँचा उद्योगहरुलाई एकरुपताका साथ अघि लैजाने नीति सरकारले अवलम्बन गर्ने बताए ।

सोही कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको गलैँचा व्यवसायलाई विश्वबजारमा छुट्टै ब्रान्ड बनाएर प्रस्तुत गर्न सके व्यवसाय फस्टाउने बताए । साथै उनले हाल गलैँचा उद्योग सरकारको पहुँचमा नपुगेका श्रमिकहरुलाई रोजगारी दिने थलो बनिरहेको पनि बताए । ‘गलैँचा उद्योग अपाङ्गमैत्री बन्नुपर्छ, अर्थात् जो असक्त छन्, निरक्षर छन्, उनीहरुलाई यसमा सहभागी गराउन सक्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा यो भन्न सक्नुपर्छ की यो हाम्रो देशका असक्तहरुले उत्पादन गरेको वस्तु हो, तब त्यसको महत्व बढ्छ’, मल्लले भने ।
यस्तै नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका निवर्तमान अध्यक्ष रामबहादुर गुरुङले गलैँचा उद्योग नेपालकै पुरानो उद्योग भए पनि नेपालमा बजारको अभाव रहेको बताए । साथै राज्यले पनि गलैँचा उद्योगका लागि खासै ध्यान नदिएको उनको गुनासो थियो । संघका अध्यक्ष तेन्जिङ शेर्पाले गत वर्षमात्रै ११ अर्ब भन्दा बढीको उत्पादन निर्यात गरेको जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend