काठमाडौँ । सूर्तीजन्य पदार्थ कारण नसर्ने रोगको प्रकोप बढ्दै गएको छ । तीनवर्ष अघिसम्म नसर्ने रोगमा मृत्यु हुने प्रमुख रोगमा मुटुरोग मानिन्थ्यो भने हाल क्यान्सरले सबैभन्दा बढी मानिस मृत्यु भइरहेका पाइएको छ ।वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्रप्रसाद बरालले धूमपान तथा सूर्तीजन्य पदार्थका कारण टाउकोदेखि खुट्टासम्मलाई असर गर्ने बताए । क्यान्सर मात्र होइन, दम, खोकी, मुटु, कलेजो, फोक्सो लगायतका रोगमा सूर्तीजन्य पदार्थ नै मुख्य कारण रहेको भन्दै डा. बरालले सूर्तीजन्य पदार्थलाई नरोकेसम्म क्यान्सर लगायत अन्य रोगको भयावह स्थिति बढिरहने बताए ।
डा. बरालले आफ्नी आमा लगायत आफ्नो परिवार र नातेदारभित्र ६० जना क्यान्सर रोगको कारणले निधन भएको जानकारी दिँदै सबैजनाको निधन धूमपान मात्र नभएर वंशाणुगतलगायत अन्य कारण पनि रहेको उनको भनाई छ । सूर्तीजन्य पदार्थ बाहेक वंशाणुगत र खानपान पनि क्यान्सरको प्रमुख कारण रहेको डा. बरालको भनाइ छ । हरेक अङ्गमा लाग्ने क्यान्सरको प्रमुख कारण सूर्तीजन्य पदार्थ रहेको बताउँदै डा. बरालले क्यान्सर विश्वमा प्रमुख ‘किलर’को रुपमा स्थापित भइसकेको बताउछन् ।
नेपाल बाहेक अन्य देशका बिरामीलाई फलफूल, काँचो खाद्य पदार्थ, तरकारी खान सुझाव दिए पनि नेपालमा भने फलफूल, तरकारीमा अत्यधिक विषादीको प्रयोगले आफूले पनि त्यस्ता पदार्थ नखान सुझाव दिएको उनले बताए ।
चालीस प्रतिशत क्यान्सरलाई रोकथाम गर्न सकिने भन्दै उहाँले सूर्तीजन्य पदार्थको कारण हुने क्यान्सरलाई ९० प्रतिशतले रोक्न सकिने बताए । बिरामीहरु चुरोट खान छोडे, गुट्खा, पान पराग, खैनी खान सुरु गरे भन्दै आउने गर्दछन, डा. बरालले भन्नुभयो,“चुरोटले मात्र होइन पानपराग, खैनीले पनि शरीरमा त्यत्तिकै असर गर्दछ भन्ने बुझ्नु पर्दछ ।”डा. बरालले एउटा चुरोटको खिल्लीमा चार हजार प्रकारको रसायन मिसाइएको जानकारी दिदै ती रसायनमध्ये ६० देखि ७० किसिमले क्यान्सर गराउने तत्व रहेको बताए ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले दमरोगको प्रमुख कारण सूर्ती सेवन रहेको बताए । उनले दमरोगीमध्ये ८० प्रतिशत रोगी सूर्ती सेवनकै कारणले मृत्यु हुने गरेको जानकारी दिदै सूर्तीजन्य पदार्थलाई नियन्त्रण नगरेसम्म दम रोग नियन्त्रण गर्न नसकिने बताए । वीर अस्पतालमा सयजना दम रोगका बिरामी आउँदा ८० जना सुर्तीकै कारणले दमको समस्या भएका उहाँले बताए ।
सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण कानुनअनुसार सरकारी भवन, स्वास्थ्य संस्था, सार्वजनिक सवारी साधन, उद्योग तथा कलकारखाना, होटल, धार्मिक स्थल लगायतका क्षेत्रहरुमा धुम्रपान गर्ने व्यक्ति, चुरोटको बट्टामा ७५ प्रतिशत धूमपानविरुद्धको चित्र नराख्ने कम्पनी, सुत्केरी तथा १८ वर्ष मुनिका बालबालिकालाई चुरोट बेच्ने व्यापारीलाई समेत कारबाही हुने उल्लेख छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले चुरोटको बट्टा, नेपाली चलचित्र तथा कुनै पनि टेलिसिरयलहरुमा धूमपान प्रयोग गरेको दृश्यहरु पनि राख्न नपाइने बताए । विश्वमा नसर्ने रोगबाट हुने मृत्युको कारणहरुमध्ये सूर्तीजन्य पदार्थलाई प्रमुख कारण मानेर विश्व स्वास्थ्य संगठनले यसलाई नियन्त्रण गर्न सन् २००३ मा सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अन्तर्रा्ष्ट्रिय महासन्धि पारित गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend