काठमाडाैँ,२१ पुष । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्।
नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनीमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स, निर्यात र पर्यटन तीनवटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन्।
उनले सरकारले रेमिट्यान्स भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीनवटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेकोमा जाेड दिए।
अध्यक्ष गाेल्छाले भने, ‘मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा छ। खास गरेर बैकिङ प्रणालीमा तरलताको अभाव र शोधानान्तर स्थिति कमजोर भएकाले अर्थतन्त्रको यो स्थिति आएको हो। विदेशी मुद्राको आयस्रोत एउटा मात्रै भयो। त्यो रेमिट्यान्स मात्रै हो। ९० प्रतिशत आय रेमिट्यान्स छ। पहिला पर्यटनबाट पनि विदेशी मुद्रा आर्जन हुने गरेको थियो। निर्यातको पनि प्रतिशत बढी थियो। अहिले सबैले निर्यात बढाउन जरुरी छ। मुलुकको अर्थतन्त्र जुन विमान हाे जसकाे एउटामात्र इन्जिन रेमिट्यान्सले चलेको छ। अर्को इन्जिन निर्यात हुनसक्छ। तेस्रो इन्जिन पर्यटन बन्नसक्छ। तीनवटै इन्जिन चल्ने हो भने अर्थतन्त्र बलियो हुन्छ। यसमा सरकारले ध्यान दिन जरुरी छ। सबैले निर्यात अनुदान पाउनुपर्छ। हाम्रो मौलिक वस्तुहरुको निर्यातलाई प्रोत्साहन गर्न जरुरी छ।’
निर्यात परिषद्ले २५ औँ वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा सुरु गरेको छ।
प्रदर्शनीमा २० वटा स्टलमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend