काठमाडौं ९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ । साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि परीक्षा आवेदन खुला गरेको हो । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो ।
शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने बोर्डले जनाएको छ । बोर्डले आफ्ना सम्पूर्ण शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई निर्धारित समयमा परीक्षा आवेदन फारम भर्न भराउन समन्वय गर्नको लागि निर्देशन समेत दिएको छ ।
फारम भर्दा साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीले रजिष्ट्रेशनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७७ वा सोभन्दा पहिले आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) गरी विद्यालय पोसाकमा हाल सालै खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटोसहित परीक्षा दस्तुर ५०० रूपैयाँ विद्यालयमा बुझाउनुपर्ने बोर्डले जनाएको छ ।
त्यस्तै खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा पढिरहेका विद्यार्थीका लागि दूर शिक्षा÷खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका (संशोधनसहित) २०६३ को दफा १५ र १७ अनुसार फारम भर्न बोर्डले भनेको छ । ती विद्यार्थीले तोकेको सबै शर्तहरु पूरा गरेको सिफारिशसहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटोसहित परीक्षा दस्तुर ५०० बुझाउनुपर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend