बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यति अंक नल्याउने विद्यार्थीले ११ मा भर्ना हुन नपाउने

यति अंक नल्याउने विद्यार्थीले ११ मा भर्ना हुन नपाउने

 

काठमाडौं ११ साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।

निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

ग्रेडका आधारमा प्रयोगतात्मकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड ल्याउन नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र संपरीक्षण अङ्कमा गरिनेछ । परीक्षण र संपरीक्षणबाट प्राप्त अङ्क (ग्रेड सिटमा सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अङ्क) ग्रेडमा रुपान्तरण हुनेछ ।

अक्षराङ्कन (ग्रेडिङ) विधिले सिकाइको गुणस्तर खस्किएको आवाज उठेपछि सरकारले ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको थियो । विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको थियो ।

कार्यदलको सिफारिस अनुसार नै सरकारले सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको हो । यसअघिसम्म अक्षराङ्कन (ग्रेडिङ) विधिमा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर आउने कुल अङ्कको आधारमा मात्र ग्रेडिङ गर्ने गरिएको थियो । यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उतीर्ण हुने अवस्था थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा छिट्टै सार्वजनिक गर्दैछ । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाईटबाट तथा एसमएमएस र आईभीआरबाट पनि विद्यार्थीले नतिजा हेर्न सक्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend