सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राप्रपा एकीकरणमा पारस सक्रिय

राप्रपा एकीकरणमा पारस सक्रिय

पूर्वयुवराज पारस शाह राजनीतिमा सक्रिय हुने संकेत गरेको छन्। लामो समय राजनीतिबाट टाढै रहेका पारसले फुटेका तीनवटै राप्रपा एकीकरण गर्ने प्रयास थालेका हुन् । उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरे । तीनवटै पार्टीका नेतालाई नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका थिए ।त्यस क्रममा उनले तीनवटा पार्टीबीच एकता प्रक्रियामा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेको सहभागी नेताहरूले जानकारी दिए ।

त्यसपछि उनले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एक हुनुपर्ने विचार व्यक्त गरेका थिए ।भेटवार्तामा राप्रपा प्रजातान्त्रिकका राजेन्द्र गुरुङ, सुरेश आचार्य, रवीन्द्रप्रताप शाह, विराज विष्ट, सगुनसुन्दर लावती, पंकज प्रधान र श्याम थापा सहभागी थिए । एकीकृत राप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, डा. सुष्मा आचार्य र डा केशव श्रेष्ठ तथा राप्रपाबाट सिर्जनारानी बर्मा, सुचित्रा घिमिरे, सहभागी थिए ।
राप्रपाका नेता जयन्त चन्द, भुवन पाठकलाई बोलाए पनि उनीहरू छलफलमा सहभागी नभएको पारसनिकट स्रोतले बतायो । भेटवार्तामा पारसले राष्ट्रवादी शक्ति बलियो बनाउन आवश्यक रहेको भन्दै एकजुट हुन सबैलाई सुझाब दिएका थिए ।‘सबै युवा मिलेर राष्ट्रवादी शक्ति बलियो बनाउनुपर्छ । त्यसमा तपाईंहरूले विषेश ध्यान दिनुहोला,’ पारसले युवा नेतालाई यस्तो सुझाव दिएको सहभागी एक नेताले बताए । राप्रपा प्रजातान्त्रिकका नेता राजेन्द्र गुरुङले पूर्वयुवराज पारससँग उनकै निमन्त्रणमा पार्टी एकताबारे छलफल भएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend