श्रीधर न्यौपाने (मेयर प्रत्यासी, तानसेन नगरपालिका)
स्थानीय तहको निर्वाचनका लागि लाखौंको उम्मेदवारी परेको छ । तिनै लाखौंमध्येको एउटा नाम श्रीधर न्यौपाने पनि हो । पाल्पा जिल्ला तानसेन नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएका न्यौपाने नेपाली काँग्रेस (वीपी) को पाल्पा जिल्ला सभापति हुनुहुन्छ । नेपाली काँग्रेसमा वीपीको सिद्धान्तलाई ह्रासकट्टि गरेपछि नेपाली काँग्रेस वीपी पार्टीको उदय भएको हो । अहिले यस पार्टीमा जनलहर छाएको दाबी यस पार्टीका नेताको छ । पाल्पा अर्गलीका न्यौपाने अधिवक्ता हुनुहुन्छ । वकिलका रुपमा चिनिने उहाँले तानसेनवासीलाई सामाजिक विकास र अवसरमा न्याय दिन कम्मर कसेर लाग्ने बताउनुभएको छ । यसै विषयमा मेयरका प्रत्यासी न्यौपानेसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।
तानसेन नगरपालिकाको मेयरमा तपाईको उम्मेदवारी किन ?
म मेरो प्यारो तानसेनवासीका समस्यालाई सम्बोधन गरी समाधानको बाटो निकाल्ने एक संवाहक बन्नका लागि, जनताको सेवा गर्नका लागि मेयरजस्तो गरिमामय पदमा उम्मेदवार भएको हुँ ।
तपाईको चुनाव जित्ने आधार के हो ?
मसँग भिजन छ । भिजन अनुसार काम गर्ने क्षमता छ । मलाई स्थानीय कानुनदेखि केन्द्रसम्मका कानुनी पद्दतिको ज्ञान छ । मेरा तानेनवासीलाई यस्तै व्यक्ति चाहिएको थियो जसमा योग्यता पुगेको ठानें । मेरा पछाडि जनलहर छ । जनताको दुःखसुखमा साथ रहि काम गर्ने मजस्तो सरल व्यक्तिलाई मेयरको रुपमा पाउनु तानसेनवासीका लागि गौरवको कुरा हो । मेरा पछाडि तानसेनवासीको केही गरेर देखाउने विश्वास र भरोसा सबै मतदातामा हुनु नै चुनाव जित्ने आधार हो ।
तानसेन नगरका कुन कुन समस्याका लागि चुनाव लड्दै हुनुहुन्छ ?
तानसेनवासीको पहिलो समस्या पिउने पानी हो । मोटरबाटोको बिस्तार, हस्पिटलको विकास, कृषि बजारीकरण, बजार व्यवस्थापन, फोहोर व्यवस्थापन, रोजगारी श्रृजना र उद्योगको स्थापना नै यहाँका प्रमुख समस्या हुन् ।
तानसेन नगरको विकासका लागि तपाईको गुरुयोजना के ?
तानसेन नगरको विकासका लागि मैले पहिलो गुरुयोजनामा बाटोको बिस्तारलाई नै जोड दिन्छु । तानसेनबाट रिडी जोड्ने भुल्के सडकको निर्माणमा जोडिएर उक्त बाटो बनाउन सकेमा रिडीबाट ३० मिनेटमा तानसेन पुग्न सकिने र पिउने पानी पनि भुल्केबाट गाडीमा तानसेन लान सजिलो हुनेछ । कृषिभूमि अर्गलीको तरकारीलाई तानसेनमा बिक्रि बितरण गर्न सकिन्छ । साथै, मेरो लक्ष्य तानसेन वरीपरी चक्रपथको निर्माण गर्ने पनि छ ।
बलियो संगठन भएका कांग्रेस र एमालेजस्ता पार्टीसंग चुनावीमैदानमा हुनुहुन्छ, संगठनबिना कसरी जित्नुहुन्छ ?
ठीक प्रश्न गर्नुभयो । जनतालाई यतिबेला संगठन चाहिएको होइन । संगठनले काम गर्ने होइन काम गर्ने व्यक्तिले हो । जनता कुनै संगठनका स्थिर व्यक्ति हुँदैनन् । भिजनसहित काम गर्ने नेताको पछि लाग्छन् । त्यस्तो भिजनसहित काम गर्ने कला र क्षमता ममा छ तसर्थ सानो दलबाट उठेको भए पनि यहाँका सचेत मतदाताहरु मेरो पक्षमा हुनुहुन्छ । मेरा लागि मेरा जनता सबै समान हुन् सबैलाई समान आँँखाले हेर्छु । समान व्यवहार गर्छु जसले गर्दा मलाई सबैले माया गरेर तानसेनको पहिचानमध्येको एक करुवा चिन्हमा मतदान गरी जिताउनु हुनेछ ।
तानसेन नगरको विकासमा तपाईको कुन योगदानलाई मत दिने ?
तानसेन नगरको विकासमा ऐलेसम्म उल्लेख्य योगदान गर्ने अवसर पाएको छैन । त्यस्तो अवसरको खोजी पनि हो मेरो उम्मेदवारी । भिजनसहित काम गर्ने र लक्ष्यमा पुग्ने वातावरण श्रृजना गर्न मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु । चुनाव जित्नासाथ पहिलो काम के गर्नुहुन्छ ? चुनाव जित्नासाथ पहिलो काम कृषिसडक बिस्तार गर्नेछु ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend