सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको तीन सय शैयया गरी हाल अस्पतालमा छ सय शैयया सञ्चालनमा छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रबिन खड्काका अनुसार राजनैतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुखलगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउने र शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको छ ।
मुलुकको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् ।
अस्पतालले चितवनसहित त्यसवरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्यांक छ । अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो । काठमाडौँको प्रसुतिगृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend