शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

 

 

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गरेका छन् । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उनले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गरे ।
देशभरका पालिका सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको बताए । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झण्डै आठ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भइरहेको र प्रक्रियामा रहेका झण्डै दुई लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने अवस्था देखिएको जानकारी दिए ।
माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने उल्लेख गर्दै उनले विचार, राजनीति र सङ्गठनमा रहेको अलमलसमेत अब सकिएको स्पष्ट पारे । सङ्गठनात्मक अभियानलाई क्रियाशिलताका साथ अगाडि बढाएपछि तराई मधेशदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको उनको भनाइ छ । डोल्पा, भोजपुर, रौतटह र सर्लाहीलगायत जिल्लामा भएका जनसभालगायतबाट पनि पार्टीप्रति जनताको विश्वासमा वृद्धि भएको आफूले पाएको अध्यक्ष दाहालले उल्लेख गरे ।
पार्टीमा महिलाको सहभागिता बढाएर ३५ प्रतिशत पु(याइएको, युवाको प्रतिनिधित्व २० प्रतिशत रहने गरी सुनिश्चिता गरिएको तथा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई विशेष प्राथमिकतामा राखिएका कारण जनताले माओवादी नै भरोसायोग्य पार्टी भएको विश्वास गरेको उनको भनाइ छ । अध्यक्ष दाहालले पार्टीलाई नयाँ शिराबाट उठाउने विश्वास दिलाएका कारण माओवादीमा बुद्धिजीवी, युवा, मजदुर, किसान र विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण बढेको दावी गरे ।
संविधान,सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्रका साथ प्रतिनिसिभाको विघटन गरिएको र परिवर्तनका सबै एजेण्डलाई ध्वस्त पार्न खोजिएका कारण जनताले बाध्य भएर त्यसको प्रतिवाद गरेको उनको भनाइ थियो ।
पार्टी सदस्य संख्या १० लाख पुगेकाले प्रत्येक पार्टी सदस्यले चार जना मतदाता तयार पारे ४० लाख मत पार्टीको पक्षमा आउने भन्दै सोही लक्ष्यका साथ क्रियाशिल हुनसमेत ध्यानाकर्षण गराए । सरकारका नीति तथा कार्यक्रम, पार्टीको नीति तथा कार्यक्रम र जनताको आवश्यकताको आधारमा समाजवादी कार्यदिशा तय गर्नुपर्ने उनको जोड थियो । यो समाचार कारोबार दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend