सरकारले कर तथा राजस्व प्रशासनमा ब्यापक हेरफेर गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालयको नयाँ प्रशासनिक संरचनालाई स्वीकृत गरेको छ । अब मुख्य भन्सार कार्यालयहरु थप भएका छन् भने आन्तरिक राजस्व कार्यालयको संख्या पनि बढेको छ । साउनबाट नयाँ संरचनाअनुसार सेवाको थालनी हुनेछ ।
काठमाडौं उपत्यकामा रहेका १३ वटा करदाता सेवा कार्यालयका आन्तरिक राजस्व कार्यालयमा रुपान्तरण भएका छन् । काठमाडौंका तीनवटा आन्तरिक राजस्व कार्यालय अब मध्यमस्तरीय करदाता कार्यालय बन्ने भएका छन् ।
ठूला करदाता कार्यालयलाई यथावत राखिएको छ ।
मझौलास्तरका करदाताहरुका लागि नयाँ संरचनाअनुसार सेवा प्रदान गरिने अर्थमन्त्रालयले जनाएको छ । आगामी वर्षमा सरकारले चालु वर्षको भन्दा झण्डै ३५ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको छ । त्यसलाई भेट्ने गरी कर प्रशासनको संरचनाहरु परिवर्तन गरिएको छ।यसैगरी अब ५ वटा छोटी भन्सार कार्यालयहरुलाई अब भन्सार कार्यालयमा परिणत गरिने भएको छ । अब झापाको भद्रपुर छोटी भन्सारलाई प्रमुख भन्सार कार्यालयमा परिणत गरिएको छ ।
त्यसैगरी सिराहको ठाडी, रुपन्देहीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति छोटी भन्सार पनि अब मुख्य भन्सार कार्यालयमा परिणत भएका छन् । नेपालमा अब २८ वटा मुख्य भन्सार र १ सय ३८ वटा छोटी भन्सारहरु रहनेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend