भक्तपुर । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले राजनीतिमा तरंग ल्याए पछि सत्ता गठबन्धन झस्किएको छ । उनले गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाएका छन् ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले बुधवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन । उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए ।
सचिव विष्टले भने, ‘आज म उद्घोष गर्न चाहन्छु, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट उपगुट रहेन, यो पार्टी सांगठनिक हिसाबले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १०औं महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजाने छ ।’
एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भने, ‘यो मुलुकमा नेकपा एमालेसँग एक्लाएक्लै निर्वाचनको मैदानमा गएर प्रतिस्पर्धा गर्नसक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन, त्यसैले बिहान उठेर मुख धुनुअगाडि, राति सुत्नुअगाडि मात्रै होइन, सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन् ।’
उनले भने, ‘एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्ड लगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा गर्योे, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौं ।’
पार्टी एकताको ३ वर्षको अवधिमा कम्युनिस्टभित्र धेरै उतावचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उनले यो समयमा एमालेकोे जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने भनाइ राखे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend