काठमाडौं । दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन। अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय ३० रूपैयाँ पुगेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य दुई सय रूपैयाँ किलो पुगेको छ। साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ। कालीमाटीमा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर ८० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौंला ९०,काँक्रो एक सय ४०,करेला एक सय २०,आलु ७१ रूपैयाँ किलोमा बिक्री भएको छ।
कालीमाटीको तुलनामा उपभोक्ताले खरिद गर्ने खुला बजारमा अझै महँगो छ। तरकारी खुल्ला बजारमा किलोमै ५० रूपैयाँसम्म महँगो छ। खुल्ला बजारमा टमाटर एक सय ३० रूपैयाँ किलो पुगेको छ। त्यसैगरी,खुला बजारमा काउली एक सय ५०,बोडी एक सय ६०,भिण्डी एक सय २०, सिमी एक सय ४०, घिरौंला एक सय, काँक्रो एक सय ५०,करेला एक सय ३० रूपैयाँ किलोमा बिक्री भएको छ।
तरकारी धेरै महँगो भएपछि न्यून आम्दानी भएकालाई निकै कठिन भएको छ। तरकारी पाउकै ५० रूपैयाँ तिर्नु परेपछि उपभोक्ताले प्रयोगमा पनि कटौती गरेका छन्। होलसेल हुँदै खुद्रा बिक्रेताको पुग्दा उपभोक्ताले अझै धेरै तिनुपर्ने बाध्यता छ। तरकारीको खरिदनै महँगो भएकाले धेरै मूल्यमा बिक्री गर्नुपरेको ढुंगेधारका तरकारी व्यापारी राम सिलवालले बताए। यो समाचार नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend