काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चितवन पुगेर नेपालको राजनीतिमा ठूलै तरंग ल्याएका छन । उनले गठबन्धनको सरकार दिनदिनै खुइलिँदै जाने टिप्पणी गरेका छन् । सोमबार एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुरजस्तो खुइँलिदै जान्छ । यिनीहरू आफैं ढले अचम्म नमाने हुन्छ ।’
तर, सरकार फेरबदल गर्न पनि आफूहरूको रुची नभएको ओलीले बताए । ‘हामी सरकार फेरबदलतिर छैनौं, हामी चुनावको तयारीमा छौं ।’ अहिलेको सत्ता गठबन्धन दुई(दुई पटक चुनावबाट भागेको भन्दै ओलीले अब भने भाग्न नसक्ने बताए । उनले भने, ‘चुनावबाट कहिलेसम्म भाग्लान यिनीहरू ?
‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको । अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुईरदुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’
अध्यक्ष ओलीले चितवन महानगरकी मेयर रेणु दाहालमाथि पनि खबरदारी गरे । उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने पनि बताएका छन् ।
चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने बताए । ‘यो सरकार चल्दै जाने र लुतो लागेको कुकुर जस्तै खुइलिँदै जान्छ । एमालेले चाहे यो सरकार सात दिनमा ढाल्न सक्छ तर, हामी सरकार ढाल्न हतारो गर्दैनौँ । जनतालाई सचेत पार्न अगाडि बढ्छौँ ।’नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमाले सबैभन्दा शक्तिशाली दल बन्ने दाबी गरेका छन् । ‘यो नारायणीलाई साउनमा कसैले रोक्न सक्छ ? ’ ओलीले प्रश्न गर्दै भने, ‘हो एमाले त्यस्तै हो । कसैले रोक्न सक्दैन । आउँदो चुनावमा हेर्नुस् । एमाले पहिलो शक्ति बन्छ ।’
यस्तै ओलीले एमाले आन्तरिक लोकतन्त्रमा अब्बल दल भएको दाबी गरे । भने— ‘नेकपा एमाले सबै तवरले दर्बिलो छ । आन्तरिक लोकतन्त्र एमालेमा छ । एमाले नेपाल बारजस्तो कुटाकुट गर्दैन । कुटाकुट गर्न एमाले नेपाल बार होइन ।’
ओलीले एमालेलाई असंवैधानिक तवरबाट सत्ताबाट हटाइएको दोहोर्याए । ‘एमालेलाई संवैधानिक तवरबाट त कुनै पार्टीले हटाउनै सक्दैन,’ ओलीले भने, ‘त्यसैले परमादेश, अध्यादेश यी यावत् असंवैधानिक तवरबाट हटाइयो ।’
एमालेले चाहे वर्तमान वठबन्धनको सरकार सात दिनमा ढाल्ने दोहोर्याउँदै ओलीले भने— ‘यो सरकार आफैँ ढलेपनि केही अचम्म मान्नु पर्दैन । एमालेले चाहे यो सरकार सात दिनमा ढल्छ । हामी संवैधानिक तवरबाट सरकारको नेतृत्व चाहन्छौँ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend