शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सत्ताका लागी तँछाडमछाड

सत्ताका लागी तँछाडमछाड

 

डा डीआर उपाध्याय

देउवा सरकार गठन भएको झण्डै तीन महिना पुग्न लाग्दा पनि मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन । बिहीबार मन्त्री परिषदले पूर्णता पाउँछ भनिए पनि त्यो हुन सकेन । आज (शुक्रबार) मन्त्री परिषदले पूर्णता पाउने भनिएको छ । तर अन्योल कायमै रहेको छ । मन्त्रालयको भागबण्डामा चित्त नबुझे पछि दलहरू बीच अझै सहमती जुटन सकेको छैन । यसरी कति दिन पर धकेल्ने रु माओवादीले मन्त्री बन्नेको टुंगो लगाईसकेको छ । एकिकृत समाजवादीले पनि मोटामोटी मन्त्री बन्नेको टुङ्गो लगाईसकेको छ । जसपाले मन्त्री छनोट गर्न उपेन्द्र यादवलाई जिम्मा दिएको छ । लामो समयसम्म मन्त्री परिषदले पूर्णता पाउन नसकेपछि सरकारको सबैतिरबाट आलोचना भइरहेको छ । यसरी देश बनाउन सकिदैन । देश बनाउन योग्य व्यक्ति चाहिन्छ । राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई बुझन सकेनन् ।

विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व्यवस्था बद्लियो । विभिन्न दलका व्यक्तिहरू प्रधानमन्त्री वा मन्त्री भए । तर, जनताको अवस्था बद्लिएन । बरु कुशासन बढ्यो । भ्रष्टचार व्याप्त भयो । उद्योग धन्दाहरू बन्द छन् । सरकारी लगानीमा रहेका धेरै जसो उद्योग तथा संस्थान घाटामा गए । विचार र व्यवस्था सञ्चालन गर्ने व्यक्ति योग्य नभएको कारण देशका समस्याहरू ज्यूँका त्यूँ छन् । जनताले कतै पनि सुधारको अनुभूति गर्न पाएनन् । सात दशकमा सातवटा संविधान लेखिए । पछिल्लो समयमा संविधान सभाबाट गणतान्त्रिक संविधान बन्यो । तत्पश्चात् इतिहासमा लगभग दुई तिहाइको जनसमर्थको निर्वाचित सरकार बन्यो । तर, सरकार सञ्चालन गर्न सक्ने सक्षम व्यक्तिको अभाव खडकिरहेको छ । विचार र व्यवस्थाको परिवर्तनले मात्र देश विकास नहुँदो रहेछ । देश विकास गर्न इमानदार राजनेता चाँहिदो रहेछ । त्यागी व्यक्तिको खाँचो हुँदो रहेछ ।

आज दल र तिनका नेताहरु सत्ताका लागी तँछाडमछाड गरिरहेका छन् । स्वार्थको खिचडी पकाइरहेका छन् । देश विकासका लागि राम्रो योजना, चुस्त प्रशासन, विधिको शासन, सेवामुखी कर्मचारीतन्त्र अनिवार्य सर्त हो । ठूलाठूला भ्रष्टाचारका प्रकरणमा तैं चुप मैं चुपको अवस्था छ । भ्रष्ट नेताका पछाडि लाग्ने कार्यकर्ता हुन् । तिनीहरूलाई मतदान गर्ने जनता हुन् । मुलुकमा राजनीतिक व्यवस्था बद्लियो । तर, राजनीतिको उच्च तहमा पुगेका व्यक्ति बद्लिन सकेनन् । राजनीतिमा पात्र र प्रवृत्ति बद्लिएन । राजनीतिकर्मीका कारण मुलुक राजनीतिक अस्थिरतातर्फ गइरहेको छ । स्थिर राजनीति र आर्थिक समृद्धिको पर्खाइमा रहेका नागरिक अहिले निराश छन । गणतन्त्र आएको पनि १५ बर्ष बितिसक्यो । जनआन्दोलन २०६२÷६३ पछाडिको समयमा नागरिकले नयाँ राजनीतिक संरचनाअन्तर्गत एउटा संविधानको किताब, सातवटा प्रान्तीय सरकार, ७ सय ५३ वटा स्थानीय सरकारबाहेक जनताको जीवनमा के परिवर्तन भयो त रु सुशासन, आर्थिक समृद्घि, रोजगारीको अवसर, महँगी नियन्त्रण र जनताको सहज जीवनयापनको व्यवस्था अनिवार्य सर्त हुन् । विकास र सुशासन लोकतन्त्रको मेरुदण्ड हो ।

राजनीतिक नेताहरूका कारण समाजमा कुनै न कुनै रूपमा द्वन्द बढिरहेको छ । अहिले स्थानीय तहमा विकासभन्दा बढी भ्रष्टाचार, अनियमिता र राजनीतिक असझदारी बढ्दै गएको छ ।जनप्रतिनिधिहरूले देश र जनताको पक्षमा काम नगरी भ्रष्टाचार, अलमल, ढिलासुस्ती, दलगत स्वार्थमा लागे । जनताको भावनालाई कुल्चने काम गरे । देशलाई केन्द्रमा राखेर काम गर्न नेतृत्व असफल भयो । हरेक दलहरू आन्तरिक विवाद र झन्झटमा अल्झिएकाले काम गर्न पनि सजिलो छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend