मानेभञ्ज्याङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले तेरो र मेरो मान्छेभन्दा पनि असल मान्छेलाई नेतृत्वमा ल्याउन अनुरोध गरेका छन ।
उनले कांग्रेसको वडा अधिवेशनमा अधिकांश स्थानमा सर्वसम्मत भएको भन्दै नगरपालिका र गाउँपालिकाको अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि अपील गरेका छन् ।
ओखलढुंगा जिल्लाको मानेभञ्ज्या गाउँपालिकामा नेपाली कांग्रेसले स्व गोपाल राईको १५औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन ।
उनले भने, ‘ओखलढुंगाको मानेभञ्ज्या गाउँपालिका स्व बलबहादुर राई र स्व गोपाल राईको घर भएको गाउँपालिका हो । हामीले गाउँपालिकाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न सक्यौँ भने उहाँहरूप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।’
ओखलढुंगा जिल्लाको विकासका लागि स्व।बलबहादुर राई र स्व।गोपाल राईको ठूलो योगदान रहेको बताउदै नेता खतिवडाले ओखलढुंगामा बलबहार राई र गोपाल राईले लडेर विकासका कार्यक्रम ल्याएको स्मरण गराए ।
नेता खतिवडाले स्व।गोपाल राई प्रजातन्त्रको पर्यावाची रहेको बताए । उनले भने, ‘०६२र६३ सालको जनआन्दोलनमा गोपाल राई एक्लै असनमा झण्डा बोकेर हिँडेको देखेका छौँ । ०४६ सालको जनआन्दोलनमा पनि उहाँको योगदान ठूलो छ । उहाँले कहिल्यै पनि जात धर्मको कुरा गर्नु भएन ।’ नेता खवितडाले बलबहादुर राई र गोपाल राई ओखलढुंगाको मात्र नेता नभएर राष्ट्रिय नेताको छवि बनाएको बताए ।
उनले भने, ‘उहाँहरूले जहिले पनि देश र जनताको कुरा गर्नुपर्छ भन्नुभयो । जातीय कुरा गर्नुभएन’, खतिवडाले भने, ‘बाँच्न त पशु, किरा फट्याङ्ग्रा पनि बाँच्छन् । केही गर्नुपर्छ भन्ने उहाँहरूको बिचार थियो ।’
स्व।बलबहादुर राईले कटारी–ओलखढुंगाको बाटो बनाएको भन्दै नेता खतिवडाले प्रशंसा गरेका छन् । बाटोमा स्व।गोपाल राईको पनि योगदान रहेको उनले बताए । पछि सुनकोशी नदीमा पुल र सडकमा पिच बनाउन आफूले पनि विशेष पहिल गरेको भन्दै खतिवडाले टेलिफोन, बिजुली, खानेपानीका आयोजना ल्याएको बताए । उनले कांग्रेसकै कारण ओखलढुंगाका सबै गाउँपालिका र नगरपालिकाहरूसम्म मोटर बाटो पुगेको बताएका छन् । उनले कांग्रेस पराजित हुँदा ओखलढुंगासहित देशभरिका जनताको पराजय भएको उल्लेख गरे ।
नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडाहरूमा एक वर्षभित्र बिजुली बल्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग म र कांग्रेसका नेता बहादुरसिंह लामाले भेटेर ओखलढुंगाका गाउँपालिका र नगरपालिकाले बिजुलीको प्रपोजल ल्याए भने बिजुली बाल्न काम गरिदिनु होला भनेका छौँ । उहाँले हुन्छ भन्नुभएको छ ।’
बलबहादुर राई, गोपाल राईको नेतृत्वमा महेश कोर्मोचा, एलबी गुरुङ, चन्द्रकान्त दाहाल, भीमबहादुर अधिकारी, परशुराम अधिकारी, अधिमर्दन थापालगायतका नेताहरूले ओखलढुंगामा प्रजातन्त्रका लागि योगदान गरेको खतिवडाले बताएका छन् । ओखलढुंगाका ५७ जनाले ज्यान आहुती दिएको समेत उनले स्मरण गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend