काठमाण्डौं । असार २७ मा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने क्रममा नेकपा एमालेको प्रचार विभागको जिम्मेवारी सचिव योगेश भट्टराईले शुक्रबारदेखि औपचारिक रुपमा सम्हालेका छन्। पार्टी केन्द्रीय कार्यालय थापाथली हाइटमा शुक्रबार बसेको प्रचार विभागको बैठकमा प्रदीप ज्ञवालीले भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
१० बुँदे सहमति अनुसार पार्टीलाई सर्लक्कै २ जेठ २०७५ को अवस्थामा फर्काउने विषयमा विवाद चलिरहेका बेला योगेशले प्रचार विभागको जिम्मेवारी औपचारिक रुपमा सम्हालेका हुन्।
यद्यपि प्रवक्तामा भने अर्का सचिव प्रदीप ज्ञवाली यथावत रहेका छन्। ज्ञवाली २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि माधवकुमार नेपाल समूहहरु नफर्किसकेको अवस्थामा एमाले बैठकबाट प्रचार विभाग प्रमुख र प्रवक्ता बनेका थिए।
फागुन २३ को फैसलापछि ब्यूँतिएको एमालेमा प्रवक्ता पद सिर्जना गरेर ज्ञवालीलाई जिम्मेवारी दिइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका नेताहरुलाई समेत ठाउँ राखेर त्यही अनुसार पार्टीलाई जेठ २ मा फर्काउने अडान लिएका छन्।
उनले खास गरी बागमती प्रदेश इन्चार्जबाट रामबहादुर थापा बादल र सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्टलाई इन्चार्जको भूमिकाबाट हटाउन अस्वीकार गरिरहेका छन्। दुवै प्रदेशमा २०७५ जेठ २ को अवस्थमा अष्टलक्ष्मी शाक्य र भीम रावल इन्चार्जको भूमिकामा थिए। नेपाल खवरबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend