काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सदस्य वितरण अभियान सुरु गरेको छ । अध्यक्ष ठाकुरलाई नै सदस्यता दिएर हिजोदेखि वितरण अभियान सुरु गरिएको हो ।
अध्यक्ष यादवलाई लोसपाकै ज्येष्ठ नेता सर्लाहीका प्रदीप नारायण यादवले सदस्यता प्रदान गरे । त्यसपछि अध्यक्ष ठाकुरबाट वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झाले सदस्य प्राप्त गरेका छन् । हाललाई उनीहरुले १० रुपैयाँ तिरेर साधारण सदस्यता लिएका छन् केही दिनमै सक्रिय सदस्यता लिने कार्यालय सचिव प्रदीप पाठकले बताए ।
जसपा नेपालबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका हुन् । १० रुपैयाँ तिरेर फारम भरेपछि मात्र पछि सक्रिय सदस्यता पाइनेछ । सक्रिय सदस्यताका लागि ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । सक्रिय सदस्यता प्राप्त गरेका व्यक्तिहरुबाट केन्द्रीय कार्य समिति, प्रादेशिक कार्य समिति वा जिल्ला कार्य समितिले मासिक वा वार्षिक लेबी लिनेछ । आवेदन प्राप्त भएपछि सक्रिय सदस्यता प्रदान गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय अध्यक्षलाई प्रदान गरेको छ ।
पार्टीको सदस्यहरुबाट प्राप्त सदस्यता शुक्ल, आवेदन शुल्क, फारम बिक्री रकम, प्रकाशन विक्रि वापत प्राप्त रकम, लेबी एवं दाताहरुबाट प्राप्त सहयोग राशिबाट पार्टी कोष खाडा गरिने लोसपाको नियमावलीमा उल्लेख छ ।
पार्टीबाट लाभको पद प्राप्त गर्ने व्यक्तिले पाउने भ्रमण भत्ता, घर भत्ताबाहेक अन्य पारिश्रमिकबाट कम्तिमा १० प्रतिशत लेबी अनिवार्य रुपमा पार्टी कोषमा जम्मा गर्ने नीति लोसपाले बनाएको छ ।
त्यस्तै, पार्टी सदस्यद्वारा आफ्नो खुद आयको एक प्रतिशत लेबी पार्टी कोषमा जम्मा गर्ने कार्यलाई पार्टी हित अनुकुल मानेर त्यस्तो सदस्यलाई पार्टीद्वारा मनोनित हुने पदको लागि प्राथमिकताको थप आधार मानिने लोसपाको नियमावलीमा उल्लेख छ । रातोपाटीबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend