काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटा आक्रोशित भएका छन्। एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले संसदमा संयमित भएर प्रस्तुत हुन आग्रह गरेका थिए। सापकोटाको आग्रह नमानेर एमालेले विरोध जारी राखेपछि सभामुख आक्रोशित बनेका थिए। सभामुखले आक्रोशित हुँदै एमाले सांसदहरुलाई नियम र मर्यादा पालना गर्न चेतावनी दिएका थिए।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले टुक्राउन सभामुख मतियार बनेको र एमालेले १४ सांसदहरुलाई गरेको कारवाही नभएको भन्दै बैठक अवरुद्ध गर्ने बताएका थिए। सभामुखले आफूले कानुन अनुसार काम गरेको र अदालतमा विचारधिन मुद्दाका बारेमा बहस गर्न नमिल्ने जवाफ दिएका थिए। त्यसलगतै, एमाले सांसदहरुले रोस्टम घेराउ गरेका थिए।
नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भुमिकालाई लिएर उनी नेकपा माओवादी केन्द्रको कार्यकर्ता मात्रै भएको आरोप लगाएको थियो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई संसद चलाउनै मन नभएको भन्दै उनले सभामुख प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका थिए। सभामुखले नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदबारेको सूचना संसदमा नटाँसेको भन्दै एमालेले सभामुखको विरोध गरेको हो। आजै बसेको एमाले संसदीय दलको बैठकले पनि सभामुखको भुमिकामाथि प्रश्न उठाएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend