अछाम । नेकपा एमालेका उपाध्यक्ष भिम रावललाई आफनै नगरपालिकामा झड्का लागेको छ । रावलको नगरपालिकाका मेयर र उपमेयरसहित अछाममा १२ जनप्रतिनिधिले नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्।
रावलको नगरपालिका साँफेबगरका मेयर कुलबहादुर कुँवर, उपमेयर विर्मलादेवी बुडथापासहित १२ जनप्रतिनिधिले एमाले छोडेका हुन्। कुँवर, बुडथापा र चौरपाटी गाउँपालिका–४ पायलका वडाध्यक्ष हर्कबहादुर लोहारसहित १२ जनाप्रतिनिधिले आइतबार जिल्ला निर्वाचन कार्यालय मंगलसेनमा पुगेर समाजवादीमा सनाखत गरेका छन्।
निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारूले अहिलेसम्म १२ जनाले समाजवादीमा सनाखत गरेको जानकारी दिए। समाजवादीमा सनाखत गर्नेमा अधिकांश वडा सदस्य रहेका छन्।
रावलकै निर्वाचन क्षेत्रका राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा एमाले अछाम–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले पनि समाजवादीमा सनाखत गरिसकेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend