फाइल तस्वीर
सप्तरी । नेकपा एमालेका प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डलले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललाई अपराधी र गद्दारको संज्ञा दिएका छन । उनले जननेता मदन भण्डारीका असली उत्तराधिकारी केपी शर्मा ओली भएको बताए ।
गृहजिल्ला सप्तरीमा आइतबार आयोजित एमाले जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मण्डलले पार्टी अध्यक्ष ओलीको प्रशंसा गर्दै उनी नै मदन भण्डारीको असली उत्तराधिकारी भएको जिकिर गरे ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पहिलो पटक भारतसँगको सीमा सम्बन्धी कुरा उठाएको उनले बताए । ‘संसदबाट चुच्चे नक्सा सर्वसम्मतिले पारित गराउने उहाँ नै हो,’ मण्डलले भने, ‘यसअघि कुन प्रधानमन्त्रीले यस्तो कुरा उठाएका थिए ? ’
कार्यक्रममा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएर अदालतले आफ्नो कार्यक्षेत्रको दुरुपयोग गरेको आरोप लगाए । ‘संसारमा कतै पनि अदालतले प्रधानमन्त्री तोकेको छैन,’ उनले भने, ‘नेपालमा अदालतको दुरुपयोग गरिएको छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend