काठमाडौं । ओखलढुंगा जिल्लाका ७५ वडामध्ये ७३ वडामा सहमतिमै नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । ओखलढुंगाका ८ पालिका (एक नगरपालिका) का ७५ वटा वडामध्ये ७३ वडामा सहमतिमा अधिवेशन ढुंगिएको नेता रामहरि खतिवडाले जानकारी दिए ।
खतिवडाले ओखलढुंगाले एकता नै सबैभन्दा ठूलो बल हो भन्ने कुरा सिकाएकोसमेत बताए । त्यसका लागि आफूहरुले पहल गरेको उनको भनाइ छ ।
‘एकता नै सबैभन्दा ठूलो बल हो भन्ने कुरा ओखलढुंगा जिल्लाले दिएको छ । हामीले एउटा नयाँ पहल गरेका छौँ’, नेता खतिवडाले भने, ‘७५ मध्ये ७३ वडामा सहमतिमै स्थानीय वडाको अधिवेशन सम्पन्न भएको छ ।’
गुटभन्दा माथि उठेर जिल्लाभर सहमति गरेको भन्दै उनले केन्द्र नेतृत्वलेसमेत ओखलढुंगाबाट पाठ सिक्नुपर्ने बताए । ‘गुटभन्दा माथि उठेर सहमति गर्यौँ । देशभर चुनाव भइराखेको छ’, ओखलढुंगा जिल्लाबाट केन्द्र नेतृत्वले पनि पाठ सिक्नुपर्छ ।’
कांग्रेसको आगामी १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने कांग्रेसको महाधिवेशनका लागि विभिन्न चरणहरुमा अधिवेशन हुनेछ ।
भदौ १८ गतेदेखि सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन जारी छ । शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले भदौ १८ अघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो ।
क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको छ ।
कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।
क्रियाशील सदस्य सार्वजनिक नभएका २१ जिल्ला
चाँडो थपसूची सार्वजनिक गर्न सम्बन्धित जिल्लाका कार्यकर्ताले पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् । प्रदेश नं १ मा मोरङको सदस्यता सूची अझै सार्वजनिक भएको छैन । प्रदेश नं २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्लाका क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिमा प्राप्त भएको छैन ।
यसैगरी बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ र रसुवा गरी चार जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक हुन सकेको छैन ।
लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन । कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डढेल्धुरा र कैलालीका क्रियाशील सदस्यको सूची पनि हालसम्म प्राप्त नभएको निर्वाचन समितिले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend