काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन नभई चोईटिएको टिप्पणी गरेका छन् । आज राति ८ बजे प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूलाई तानाशाही भन्नु गलत भएको पनि बताए । उनले कुनै समस्या परे जनताको बीचमा जाने कुरा गर्दा कसरी निरंकुशता भयो ? भनेर प्रश्न गरे । उनले माधव नेपाललाई चुनाव हार्दा पनि आफूले पार्टीको दोस्रो पोजिसनमा राखेको सुनाउँदै कसरी हेपिएको भन्न मिल्छ ? भन्ने प्रश्न गरे ।
उनले माधव नेपालले प्रतिपक्षी दललाई किन सरकारको नेतृत्व सुम्पिए त ? भनेर प्रश्न गरे । एमालेको एकल सरकार हुँदाहुँदै किन यो सरकार ढालेर गठबन्धनको सरकार बनाएको भनेर माधव नेपाललाई ओलीको प्रश्न थियो ।
उनले आफ्नो कारणले एमाले नफुटेको पनि दाबी गरे । उनले संसद् विघटन नगरेको भएपनि एमाले फुटिसकेको थियो भन्ने स्मरण गराए । उनले २०७५ जेठ २ गतेमा कसरी फर्काउन सकिन्छ ? भन्दै समय कसैले पनि फर्काउन नसक्ने टिप्पणी गरे ।
उनले माधव नेपालले पार्टी फुटाएको कुरालाई मान्न नसकिने पनि टिप्पणी गरेका छन् । उनले भने, यो असंवैधानिक छ, गैरकानूनी छ । जालझेलपूर्ण छ । षड्यन्त्रपूर्वक छ ।” उनले माधव नेपाललाई आफूले पेलेको र हेपेको भन्नुपनि गलत भएको बताए ।
उनले माधव नेपालको पोलिटिक्स सिद्दिसकेको पनि दाबी गरे । प्रचण्डले माधव नेपाल त हिरो भनेर भन्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्न्मा उनले भने, हो, प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई नम्बरको हिरो । उहाँहरु त स्पाईडर म्यान हो ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend