काठमाडौं । महन्थ ठाकुर नेतृत्वको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने संकेत देखाएको छ । लोसपाले बुधबार अबेर राति निर्वाचन आयोगबाट वैद्यता पाइसकेको छ ।
दल दर्ताको प्रमाणपत्र पाएसँगै लोसपाका नेताहरू सरकारमा सहभागी जनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरकारमा जानका लागि हालसम्म कुनै प्रस्ताव भने गरेका छैनन् ।
यद्यपि, प्रधानमन्त्रीले मधेसका मुद्दा सम्बोधन गर्न अग्रसर देखाएमा लोसपा विपक्षीमा बस्न नसक्ने स्रोतले प्रस्ट पारेको छ ।
‘राजनीतिमा सम्भावना हुन्छ । प्रधानमन्त्रीले मधेसका माग र मुद्दामा चासो देखाए हामी पनि सरकारलाई सहयोग गर्छौ’, लोसपाका एक नेताले भने, ‘पार्टी निर्माणको प्रक्रिया अझै बाँकी छ । त्यसैले, सरकारमा जानेबारे सोचेका छैनौँ । तर, हामी विपक्षीमा बस्नेभन्दा पनि सरकारमै रेहेर सहयोग गर्ने सम्भावना बढी छ ।’
यस्तै, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि बुधबार सरकारमा प्रतिनिधित्व गर्न तयार रहेको बताएका थिए । दल दर्ता सनाखतपछि प्रतिक्रिया दिँदै नेता महतोले महन्थ पक्षले देउवा सरकार जोगाउन विश्वासको मत दिएको हुँदा आफ्ना मागसहित सरकारमा जाने मौका खोज्ने बताएका थिए ।
‘हामीले सरकारलाई समर्थन गरिसकेका छौँ’ उनले भनेका छन्, ‘सरकारमा सहभागी हुने प्रस्ताव आए आफ्ना माग र मुद्दाका साथ प्रतिनिधित्व गर्नेछौँ ।’
ससंद्मा छैटौं ठूलो दल बन्यो लोसपा
महन्थ ठाकुर नेतृत्वको नयाँ पार्टी लोसपा ससंदको छैटौं ठूलो दल बनेको छ । लोसपाबाट प्रतिनिधिसभामा १४ सांसद् हुने भएका छन् । जसमध्ये एकजना रेशम चौधरी निलम्बनमा परेका छन् । भने राष्ट्रिय सभामा पनि एकजना मात्र सासंद छन् ।
नयाँ पार्टी गठन प्रकियाका लागि निर्वाचन आयोगले बोलाएपछि नेता ठाकुर पक्षमा रहेका १४ जना सांसद र १७ जना कार्यकारिणी समिति सदस्यले नयाँ दल लोसपाको पक्षमा सनाखत गरेका थिए । लोसपा दर्ताका लागि यो सङ्ख्या कार्यकारिणी सदस्यको ३३ प्रतिशत र सांसदको ३८ प्रतिशत भएको नेता राजेन्द्र महतोले बताए ।
लोसपाका सासंद
महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह ।
केन्द्रीय कार्यकारिणी सदस्य
महन्थ ठाकुर , राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ला, बृजेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मण लाल कर्ण, राजकुमार लेखी, केशवकुमार झा, अकवाल अहमद शाह, निर्जला राउत, सुनीलकुमार झा, दानबहादुर विश्वकर्मा, रेशमलाल चौधरी ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend