राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड मा मानव स्वास्थ्यलाई हानि पुयाउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो ।
बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तराष्ट्रिय स्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको छ ।
मन्त्रालयद्वारा जारी रिपोर्टअनुसार आधुनिक डेरी बालाजु (आधुनिक), गल्फु विनायक डेरी काभ्रे (अलिसाज), आकृति दुग्ध तथा कृषि बालकोट (अनमोल), जयश्री डेरी काभ्रे (अपर्ण), भक्तपुर डेरी भक्तपुर (भक्तपुर), चौधरी डेलिसियस मिल्क एन्ड वेभरेज (एचडीआई नीलोररातो), हिमालय डेरी लगनखेल (डेली यूएचटी), दुग्ध विकास संस्थान (डीडीसी काउरक्रिमरस्ट्याडर्डरटि मिल्क) का दूधमा कोलिफर्म जीवाणु पाइएको छ ।
त्यसैगरी जगदम्बा डेरी भक्तपुर (एभ्रीडे), एचडी मिल्क एन्ड वेभरेज काठमाडौं (गोधूलि), कालिका डेरी भक्तपुर (कालिका), कान्तिपुर फ्रेस मिल्क (रातोरनीलो), नवप्रभात डेरी गोदावरी (नवप्रभात), नेपाल डेरी धापाखेल (एन्डिज), कन्ट्री फुड प्रालि भक्तपुर (नोभा), राजधानी डेरी काठमाडौं (आरडीसी), सुजल डेरी थानकोट (सफल), संजीवनी डाइटी उद्योग भक्तपुर (संजीवनी), शिवम् डेरी भक्तपुर (शिवम्), सीताराम डेरी कीर्तिपुर (कृष्ण), हिमालय डेरी प्रडक्ट लगनखेल (टुडे), तुलसा डेरी प्रालि काठमाडौं (तुलसा) र संयुक्त डेरी पाटनको (एस) लगायत प्रशोधित दूधमा पनि कोलिफर्म फेला परेको छ। प्रयोगशालाले सामूहिक कृषि डेरी बालाजुको उत्पादन (सुलभ रातोरनीलो प्याकेट) र भक्तपुरको खरिपाटी डेरीको उत्पादन (गायत्री) मा भने कोलिफर्म नभेटिएको जनाएको छ ।
चिकित्सकका अनुसार कोलिफर्म रातो रगत भएका मानिस, चौपाया र चराचुरुंगीको दिसामा पाइन्छ। यो दर्जन बढी ब्याक्टेरियाहरूको समूह हो। कोलिफर्म मुख्य तीन प्रकारका हुन्छन्– इकोलाई, फेकल र टोटल। दूधमा भेटिएको कोलिफर्म कुन प्रकारको हो भनेर केन्द्रीय प्रयोगशालामा वर्गीकरण गरिँदैन।
चिकित्सकका अनुसार इकोलाई कोलिफर्म मिसिएको दूध वा पानी पिउँदा स्वास्थ्यमा हानि पुग्छ। यो जीवाणुको मिसावट भएमा पखाला लाग्ने, टाउको दुख्ने, मांसपेसी बाउँडिने आदि हुन्छ । दूधमा कोलिफर्मको मात्रा जति धेरै हुन्छ, त्यति धेरै जोखिम हुन्छ। कोलिफर्म दूधमा हावाको माध्यमबाट उडेर वा दूषित पानीको मिसावटबाट सर्ने गर्छ।
कान्तिपुर दैनिकमा खबर छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend