काठमाडौँ । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने वित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास व्यक्त गरेकी छन् । उनले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट समेत पारेकी छन्।
नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराइन्।
उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर–बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटक–पटक आग्रह गरिन्।
उनले भनिन्, ‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ। सहमति छ। अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर। लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो। गलत सन्देश दिने काम नगरी दिनुहोस्। जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ। मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ। हामी एकताको पक्षमा छौँ। मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढनेछ। त्यसका लागि १० बूँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भन्नु भयो भने स्थिति उथलपुथल हुन्छ। त्यसो भएको हुनाले पार्टीलाई कमजोर बनाउने काम नगरौँ।’
मुख्यमन्त्री शाक्यले नेकपा एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताइन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend