शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

दल विभाजनका प्रयासहरु विरुद्ध नेता, कार्यकर्ताहरुलाई दृढताका साथ उभिन हार्दिक अपिल

दल विभाजनका प्रयासहरु विरुद्ध नेता, कार्यकर्ताहरुलाई दृढताका साथ उभिन हार्दिक अपिल

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएराति एक विज्ञप्ति जारी गर्दै एमाले र सो पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र मान्य र क्षम्य हुन नसक्ने स्पष्ट पारेका छन् । ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र भइरहेको बताएका छन ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि एमालेकै माधव कुमार नेपाल समूहलाई सजिलो पार्नेगरी अध्यादेश ल्याउन लागेको चर्चाका बीच आलीले विज्ञप्तिमार्फत दल विभाजनसम्बन्धी षड्यन्त्र क्षम्य हुन नसक्ने बताएका हुन् ।

ओलीले ०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टीलाई एकतावद्ध राख्न हरसम्भव कोसिस गरेको स्मरण गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासत सहितको एकीकृत पार्टीका रुपमा विकास गर्न केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । यस क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

ओलीले साउन १ गते सम्पन्न पार्टी स्थायी कमिटीको बैठक र साउन ४–७ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधानका लागि महत्वपूर्ण आधारका रुपमा रहेको उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको पनि बताएका छन् ।

‘केही सयमयता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भैरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ’, ओलीको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’

‘सयौं सहीदहरुको वलिदान, हजारौं नेता तथा कार्यकर्ताको कष्टसाध्य संघर्ष, लाखौं सदस्यको मेहनत तथा जनसंख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैंमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ । पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ’, ओलीले भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछु । सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछु ।’

पार्टीलाई अनुशासित, एकतावद्ध एवम् गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुलाई उनले आह्वान समेत गरेका छन् । पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत आफू सम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न पनि उनले अपिल गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend