नेपाल राष्ट्र ब्यांकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको छ। आज अपरान्ह ४ः१५ बजे गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने भएका छन्। राष्ट्र ब्यांक सञ्चालक समितिको आजबार बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो।
यो वर्षको मौद्रिक नीतिमा ब्यांक तथा वित्तीय संस्थालाई एकआपसमा गाभिन (मर्जर) प्रोत्साहनको व्यवस्था गरिने अनुमान गरिएको छ। त्यस्तै, कोभिड–१९ प्रभावित व्यवसायलाई गत वर्षजस्तै सहुलियतको नीति पनि अघि सारिने अनुमान छ।
साउनको पहिलो साता नै जारी हुनुपर्ने मौद्रिक नीति सरकार परिवर्तनसँगै तीन साता ढिलो भएको हो। सरकारले यसअघिको सरकारले ल्याएको बजेटलाई संसोधन गर्ने तयारी गरेपछि राष्ट्र ब्यांकले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई गरेको थियो। सरकारले संसद्मा बजेटको प्रतिस्थापन विधेयक पेश गरिसकेको छ।
मौद्रिक नीतिले देशको आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलापको विस्तारमा सहयोग गर्छ। मुद्रा आपूर्ति, कर्जा र ब्याजदरको व्यवस्थापनमा यो नीतिको प्रमुख भूमिका हुन्छ। खासगरी, ब्यांक तथा वित्तीय संस्था, पुँजी बजारलाई नीतिले प्रभावित पार्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend