काठमाडौं । सवारी साधन दुर्घटनामा परी सप्तरी र सुनसरीमा एक एक जनाको मृत्यु भएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।
सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना ४ ख २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा राति ९ बजे ना ४ ख २४४१ नम्बरको ट्यांकरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। खाजा खानका लागि बस रोकिरहेको अवस्थामा बसबाट ओर्लेर बाटो काटिरहेकी महिलालाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्यांकरले ठक्कर दिएको थियो।
घाइते गिरीलाई उपचारका लागि अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। ठक्कर दिने ट्यांकर र चालक मोरङ विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।
यस्तै‚ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चिरौली चोकमा शनिबार राति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय हेमन्त उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ८ प ४११५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक इनरुवा–९ का ४० वर्षीय बाबुराम उराँव समान्य र पछाडि सवार हेमन्त गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका हेमन्तको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। दुर्घटनामा समान्य घाइते भएका बाबुरामको उपचार भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend