शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपाल पक्षलाई अब धेरै दिन पर्खने स्थिति छैनः एमाले नेता तामाङ

माधव नेपाल पक्षलाई अब धेरै दिन पर्खने स्थिति छैनः एमाले नेता तामाङ

 

 

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले अब माधवकुमार नेपाल पक्षलाई एकताका नाममा अब धेरै दिन पर्खने स्थिति नरहेको बताएका छन् । पार्टीको सांगठानिक जीवनलाई चुस्त बनाउने, सदस्यता नवीकरण गर्ने, स्थानीय तहको अधिवेशन गर्ने र संवैधानिक व्यवस्था अनुसार मंसिरसम्म विधान महाधिवेशन नगरी नहुने भएकाले अन्यौलमा बस्न नसकिने नेता तामाङको धारणा छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता तामाङले वरिष्ठ नेता माधवकुमार नेपाललाई हाराहारीको अध्यक्ष बनाउनेबारे लिखित प्रस्ताव नआएको पनि जिकिर गरे । “हामीले अहिलेसम्म उहाँहरुको कुन कुरा मानेका छैनौं ?  १० बुँदे सहमति गरेकै हो । माधवकुमार नेपाललाई अध्यक्ष नबनाई नहुने हो भने महाधिवेशनमा सोच्न सकिन्छ । तर त्यो पनि कार्यकर्ताबीचमा विधिवत् प्रक्रियाबाट जो निर्वाचित हुन्छ त्यो अध्यक्ष हुने हो,” उनले भने, “उहाँलाई हाराहारीको अध्यक्ष बनाउनबारे लिखित प्रस्ताव कहाँनेर आयो ?  उहाँहरुले पार्टीको औपचारिक बैठकमै भाग लिनुभएको छैन त कसरी प्रस्ताव आउँछ ? बैठकमा सहभागी भएर उठाएका कुुरा जायज छ भने पार्टीले अवश्य सोच्छ ।”

माधव नेपाल पक्षलाई पद नभई नहुने हो पनि विधान महाधिवेशनमा जानुपर्ने उनले बताए । “विधानमा नभएका व्यवस्था कसरी गर्ने हो ? नवौं महाधिवेशनले पार्टी अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव लगायतका पदलाई मात्र चिन्छ । थप व्यवस्थाका लागि विधान महाधिवेशन नगरी सम्भव छैन,” उनले थपे । एमाले नेता तामाङले एमालेलाई कुनै पनि हालतमा फुट्न नदिने दृढता व्यक्त गरे । “मलाई विश्वास छ, साथीहरुका आफ्नै पार्टीको नेतालाई विश्वासको मत नदिने र अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने अवस्थासम्मका गतिविधिलाई आममाफी दिने भनिसकेका छौं,” उनले भने ।

नवौं महाधिवेशनबाट प्राप्त जिम्मेवारीमा स्वतः कायम हुनु नै सम्मानजनक एकता भएको उनको तर्क छ । “अहिलेसम्म उहाँहरु एमाले नै हो, पार्टी पनि एउटै हो, एमालेकै सांसद हो,” उनले भने, “अहिलेसम्म उहाँहरु अर्को पार्टीको होइन, अर्को पार्टी बनाइएको पनि छैन । अब एमालेको नेताहरुको आन्तरिक व्यवस्थापन मात्र हुने हो, दुइटा पार्टी एकता हुने होइन । माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक होइन, परामर्श बैठकमात्र हो ।” त्यसका लागि माधव नेपाल पक्षले २०७५ जेठ २ गतेअघिको केन्द्रीय समिति बैठक डाक्न माग गरेअनुसार नै केन्द्रीय समितिको बैठकमा निम्तो गरिएको पनि उनले जानकारी दिए ।

देउवा सरकारमा जाने हो भने माधव नेपाल पक्ष एमाले नरहने पनि उनले स्पष्ट पारे । “सरकारमा जाने हो भने अर्को दल बनाएर मात्र जाने हो । उहाँहरु एमाले रहनुहुन्न,” उनले भने, “मलाई जहाँसम्म लाग्छ, साथीहरु निर्वाचनसम्म अर्को पार्टी बनाउनतिर लाग्दैनन् । हामी कमजोर भएका छैनौं । अर्को निर्वाचनबाट ठूलो दल बनाएर सरकार बनाउँछौं ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend