काठमाडौं । आइतबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आइतबारको स्थायी कमिटी बैठकमा केही उदास देखिए । यसअघिको बैठकमा नेपाल समूह सरकारमा सामेल हुने सुखद खबर सुनाएका प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेपाल समूह सरकारमा नआउने खबर सुनाए ।
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे केही समय लाग्ने पनि उनले सुनाएका छन् । साथै, नेपाल समूह सरकारमा सामेल गराउने प्रयासरत अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्री देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने पनि बैठकमा भनेका छन् ।
उनले भने, ‘माधव नेपालजीहरु सरकारमा सामेल नहुने कुरो छ । त्यसैले मन्त्रिपरिषद् विस्तार केही ढिलाइ हुने भो । अब, यस विषयमा प्रधानमन्त्री शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भएको छ ।’
नेपाल समूह कै कारण ढिलाई भएको मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकारमा सामेल गराउन यसअघि नेपाल निवास कोटेश्वरमा पटक पटक पुगे पनि नेपाल पार्टी एकताकै कारण दोधारमा देखिएका छन् । कहिले सरकारमा जाने मनसाय त कहिले पार्टी एकताको विन्दू नजिकमा पुगेकाले सहभागी हुन नसक्ने अध्यक्ष प्रचण्डलाई भन्दै आएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend