नेपालगञ्ज । बाँकेमा प्रहरीसंग बार्गेनिङ गर्ने दुई जना पत्रकार पक्राउ परेपछि नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारहरुलाई सचेत गराएको छ । उसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै गलत कामको महासंघले प्रतिरक्षा नगर्ने भन्दै सचेत गराएको हो । महासंघले आचारसंहिताभित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ ।
नेपालगन्जमा कार्यालय रहेको एबिपी क्राइम न्यूज अनलाइन मिडियाका सञ्चालक आशिष मल्ल ठकुरी र राजन बैश्यलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बैश्यले प्रहरीसंग ुतपाईंले पैसा लिइरहेको भिडियो मसंग छ’ भन्दै होटलमा बोलाएर एक लाख ६० हजार मागेपछि बैश्यसहित ठकुरीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महासंघको विज्ञप्तीमा उल्लेख छ । बैश्यले सबैका सामु प्रहरीसंग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् ।
ूपत्रकार हौं भन्दै भन्सार, सीमा नाकाहरुमा जाने, मोवाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ गर्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई नेपाल पत्रकार महासंघ बाँके अपील गर्दछ,ू विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमार्फत् पत्रकार हौं भन्दै धम्काउने, पैसाको बार्गेनिङ गर्ने जस्ता कार्यले बास्तविक पत्रकारको पेशागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेशा नै बद्नाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भइसकेकाले यस्ता कार्य नगर्न सबैमा अनुरोध गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend