काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट रिटप्रति गम्भिर आपत्ति जनाएको छ । आज शनिबार बसेको बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष निकालेको हो ।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले भने, ‘निर्वाचन आयोग संवैधानिक निकाय हो, इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ, विवादको निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने हाम्रो निष्कर्ष हो ।’
यो विषयमा आफुहरुले कानुन व्यवसायीसँग पनि सल्लाह गरेको उनले बताए । उनले भने, ‘उहाँहरुले पनि यही सल्लाह दिनुभयो कि निर्वाचन आयोगले अहिले कुनै निर्णय गरेको छैन, आदेश मात्र दिएको छ, निर्णय नआएको अवस्थामा त्यसको विरुद्धमा रिट दायर गर्न मिल्दैन’ नेता यादवले भने, ‘सर्वोच्च अदालतले निर्वाचन आयोगको प्रकृया रोक्न मिल्दैन ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend