सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको यथार्थ तस्वीर छिट्टै सार्वजनिक गर्ने

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको यथार्थ तस्वीर छिट्टै सार्वजनिक गर्ने

 

 

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्वीर सार्वजनिक गर्ने बताएका छन् । अर्थतन्त्र समस्यामा परेका र त्यसलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता रहेको बताए ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग अर्थ मन्त्रालयमा आज आयोजना गरिएको छलफलमा मन्त्री शर्माले मुलुकका सामु रहेका विद्यमान समस्या समाधान गर्नेगरी सरकार अग्रसर रहेको जानकारी दिए।
उनले भने “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ ।”

मन्त्री शर्माले संसद्‌मा पेश भएको बजेट अध्यादेशको टुङ्गो लागेपछि थप कसरी अगाडि बढ्ने भन्नेबारे निष्कर्षमा पुग्ने जानकारी दिए । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । उक्त अध्यादेश पुनः स्थापित सङ्घीय संसद्मा पेश भइसकेको छ ।

यतिबेला मुलुकको प्रमुख प्राथमिकता कोरोनाविरुद्धको खोपसँगै व्यापार व्यवसायको अभिवृद्धि भएको बताउँदै मन्त्री शर्माले सबैको साथ र सहयोगबाट मात्रै आर्थिक गतिविधिलाई बढावा दिन सकिने स्पष्ट पारे ।

मन्त्री शर्माले पूँजीगत खर्च हुन नसक्नुका पछाडि विभिन्न कारण रहे पनि सार्वजनिक खरिदमा रहेको समस्या, ठेक्का प्रणालीमा रहेको जटिलता, निर्माण व्यवसायीको इमान्दार प्रयत्नको अभाव तथा सबै स्थानमा प्रक्रिया मात्रै पुर्‍याउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको बताए ।

कोरोनाका कारण समस्यामा परेको साना तथा मझौला व्यवसायी, पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले स्पष्ट कार्ययोजनाका साथ काम गर्ने र उनीहरूलाई पूर्ववत् अवस्थामा नै फर्काउन सकिने उल्लेख गरे ।

अर्थ मन्त्रालय पूर्ण पारदर्शी रहने भन्दै उनले आफ्नो कार्यकाललाई बढीभन्दा बढी जनमुखी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे । उनले मुलुकका सामु रहेका चुनौतीलाई चिरेर सरकारले आमजनताको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने र सुशासन दिनेसमेत स्पष्ट पारे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend