शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई सलाम गर्न चाहन्छुः माधव नेपाल

मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई सलाम गर्न चाहन्छुः माधव नेपाल

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामि बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिएका हुन् । नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गत वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानिरहेको बताए ।

‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो । माधव नेपाल लगायत माननीय सदस्यहरुमाथि जति पनि स्पष्टिकरण सोधिएका छन्, उनीहरुलाई आम माफी दिइन्छ, एम्नेस्टी एज एम्नेस्टी, अनि हामी गद्गद् भयौँ । महाराजाधिराजबाट हामी गद्गद् भयौँ, वाह् वाह् वाह्, महाराजधिराज खुशी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुशी हुनु पर्ने भयो, यही हो कम्युनिष्ट पद्धति ? नेपालले भने, ‘स्पष्टिकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो ।’

नेता नेपालले ३ साउनमा प्रतिनिधि सभा विघटन गर्ने अर्को षड्यन्त्र सफल पारेको भन्दै आफूसँग जोडिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सलामसमेत गरेका छन् ।

‘केपी ओलीले संसद विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ, भन्न खोज्नुभयो, तर त्यसलाई हामीले जोगाएका छौँ’ नेपालले भने, ‘संविधानको रक्षा गरेका छौँ, स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौँ, मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई पनि सलाम गर्न चाहन्छु ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend