काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीलाई एकता र अनुशासित रुपमा अघि बढाउन नेतृत्व आफ्नो हातमा लिन चाहेको बताएका छन । आफूले पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित रुपमा अगाडि बढाउन चाहेको समेत निधिले बताए ।
बिहीबार महोत्तरीमा महेश्वरसिंह स्मृति भवनको उद्घाटन गर्दै उपसभापति निधिले भने– ‘म कसैलाई पराजित गर्न होइन, काँग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु ।’ पार्टीमा थप उर्जा प्रदान गर्नका लागि आफुले उम्मेदवारी दिन लागेको बताउँदै उनले सम्पूर्ण नेता कार्यकर्तालाई साथ र सहयोग दिन अपिल गरे ।
काँग्रेस परिवर्तन, प्रणाली र संविधानको पक्षधर पार्टी भएको बताउँदै निधिले पार्टीको लाइनलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले काँग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले पनि सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा उपसभापति निधिलाई भव्य स्वागत गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend