काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले सडक प्रदर्शन गरेको छ । काठमाण्डौमा बिहीवार सार्वजनिक गाडी र ट्याक्सी सडकमा तेर्स्याएर महासङ्घले सात बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शनमा उत्रिएको हो ।
महासङ्घले कोभिड खोप उपलब्ध गराउन, गाडीको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफ्नो माग समाविष्ट गर्न, २० वर्ष अवधि पुगेका गाडीको अवधि थप गर्न, गाडीको बीमा छुट गर्न र सडक कानुन लागू गर्ने लगायतका माग गर्दै साङ्केतिक प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले महासङ्घको साङ्केतिक आन्दोलनलाई सरकारले नसम्झिए सडकमै गाडी राखेर आन्दोलन गर्ने बताए । उनले साङ्केतिक आन्दोलन नसम्झिए सडकमै गाडी छोडेर हिँड्नुपर्ने दिन नआओस् भन्दै सरकारलाई चेतावनीसमेत दिए ।
उनले भने, , ‘शान्तिपूर्ण रूपमा सबै गाडी घर र ग्यारेजबाट निकालेर सरकारलाई सात बुँदे मागको ध्यानाकर्षण गराउन खोजेका हौँ । २० वर्ष पुगेकै नाउँमा गाडी फ्याँकिनु हुँदैन, वैज्ञानिक नीति र यान्त्रिक जाँच गरेर मात्रै ठिक भए चलाउने र बिग्रिएको भए फाल्नुपर्छ, यो आन्दोलनलाई नसम्झिए सडकमै गाडी छोडेर जान्छौँ, यो कुरा सरकारले बेलैमा सोचोस् ।’
वैज्ञानिक किसिमले गाडीको आयु तय गर्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले आफ्ना सबै माग यथाशीघ्र सरकारले सुनुवाइ गर्नुपर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend