काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त गर्न नेकपा (एमाले)को माधवकुमार नेपालपक्षका सात जना सांसद भए पुग्ने भएको छ।
प्रतिनिनिधि सभामा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, राजमोका १ र स्वतन्त्र सांसद् १ जना गरी कूल १११ सांसद देउवाको पक्षमा छन्। यस्तै पछिल्लो समय आफ्नो पक्षमा १८ सांसद पुगेको जनता समाजवादी पार्टीका उपेन्द्र यादवपक्षको दाबी छ। उक्त दाबी अनुसार जसपाका १८ सांसद जोड्दा देउवाको पक्षमा १२९ सांसद पुग्ने देखिन्छ।
विश्वासको मत प्राप्त गर्न उनलाई १३६ मत आवश्यक पर्छ। त्यसका लागि नेपालपक्षका सात जना सांसदले मत दिए पुग्ने देखिएको हो। सर्वोच्च अदालतमा दायर गरिएको रिटमा नेपालपक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएपछि मत दिने, नदिनेबारे निर्णय गर्न नेपालपक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४)
अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आकलन गर्दै आजै विश्वासको मत लिन लागेका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend