प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। आज बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी भएको कानून तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसका लागि सरकारले विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा दर्ता गराएको जनाइएको छ।
नेपाल संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त भएका प्रधानम्नत्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ। सर्वोच्च अदालतको आदेशपछि देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए।
सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि आज पहिलो पटक प्रतिनिधि सभा बैठक बस्न लागेको हो। पहिलो बैठकबाटै विश्वासको मत लिने देउवाको तयारी रहेको छ। अहिले प्रतिनिधि सभामा २७१ सांसद छन्। विश्वासको मतका लागि १३६ सांसद आवश्यक पर्छ।
अहिले देउवाको पक्षमा नेपाली कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, जनता समाजवादी पार्टी (जसपा)का १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन्। अब देउवालाई विश्वासको मतका लागि आठ सांसद आवश्यक पर्छ।
उनलाई प्रधानमन्त्री नियुक्त माग गर्दै नेकपा (एमाले)का २३ सांसदले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनीहरूमध्ये आठ जनाले मत दिए देउवाले विश्वासको मत प्राप्त गर्नेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend