काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)ले यात्रुवाहक र मालबाहक गाडीमा भारी मात्रामा बढाइएको भाडा खारेज गर्न आग्रह गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै क्रान्तिकारीले भाडावृद्धि अविलम्ब खारेज गरी वैज्ञानिक भाडादर कायम गर्न सरकार र यातायात व्यवस्था विभागलाई आग्रह गरेको हो ।
‘यात्रुवाहक र मालबाहक गाडीमा भारी मात्रामा भाडा बढाउने नेपाल सरकार, यातायात व्यवस्था विभागको उक्त कार्यको हाम्रो सङ्गठन घोर निन्दा र भत्सर्ना गर्दछ,’ अध्यक्ष करिकृष्ण गजुरलेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जनताको अवस्था अत्यन्तै दयनीय बनेको परिवेशमा भाडा बढाइनुले आम जनताको जीवनस्तरमा कहालीलाग्दो अवस्था सिर्जना भएको छ । हाम्रो सङ्गठन यात्रुबाहक गाडी र मालबहाक गाडीमा गरिएको भाडावृद्धि अविलम्ब खारेज गरी वैज्ञानिक भाडादर कायम गर्न नेपाल सरकार र यातायात व्यवस्था विभागलाई हार्दिक आग्रह गर्दछौं । अन्यथा, सशक्त सङ्घर्षमा जान बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।’ वृद्धि गरिएको भाडा फिर्ता लिन माग गर्दै यातायात ब्यवस्था विभागमा आजै ज्ञापनपत्र समेत बुझाइने अध्यक्ष गजुरेलले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend