शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं महानगरले न्यूनतम २० देखि अधिकतम ९० प्रतिशतसम्म कर छुट दिने

काठमाडौं महानगरले न्यूनतम २० देखि अधिकतम ९० प्रतिशतसम्म कर छुट दिने

 

काठमाडौं । काठमाडौं महानगरले कोरोना महामारीलाई मध्यनजर गरेर कर छुट दिने भएको छ । आर्थिक ऐन २०७८ मा भएका करका दर, छुटको व्यवस्था र अनलाइन प्रणालीबाट कर संकलन गर्ने प्रक्रियाका बारेमा महानगरको राजस्व विभागले आयोजना अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख डा। शिवराज अधिकारीले महामारीका कारण आर्थिक क्षेत्रमा परेको नकारात्मक असरलाई सुधार गर्न कम्तीमा २० प्रतिशत र धेरैमा ९० प्रतिशतसम्म कर छुटको व्यवस्था गरिएको जानकारी दिए ।

“यो छुट निश्चित अवधिका लागि भएको हो । करदातालाई छुटको लाभ लिन अनुरोध गरौँ । ‘‘सकेसम्म अनलाइनबाट कर तिर्ने प्रणाली बढाउने प्रयासमा छौँ । कर प्रशासनमा यो आयामलाई सफल बनाउन सबै मिलेर काम गरौँ,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले महानगरको समृद्धि र सेवा व्यवस्थापनका लागि आन्तरिक आय बलियो हुनुपर्ने बताए ।

‘‘महानगरको समृद्धि र यसको सेवा व्यवस्थापनका लागि आन्तरिक आय बलियो हुन जरुरी छ । यसका लागि वडास्तरबाटै कर संकलन प्रणालीमा प्रभावकारी काम हुनपर्छ । आफैँ तिर्न आउनेबाट कर लिने, तिर्नै नआउनेलाई त्यत्तिकै छोडिदिने गर्नुहुँदैन,” ज्ञवालीले भने ।

आर्थिक वर्ष २०७८र०७९ का लागि महानगरको नवौँ अधिवेशनबाट पारित आर्थिक ऐन कार्यान्वयन गर्ने क्रममा सम्बन्धित अधिकारीबीच समान बुझाइ विकास गर्न र अनलाइन प्रणालीको प्रवर्धन प्रोत्साहन गर्न अन्तरक्रिया आयोजना गरिएको हो ।

नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड—१९ को प्रभावलाई मध्यनजर गरेर आ।व। ०७६÷०७७ देखिका सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुटको व्यवस्था गरेको छ । करका केही शीर्षक थपिएका छन् । विगतबाट लिइँदै आएको करको दरमा वृद्धि गरिएको छैन ।

राजस्व प्रणालीलाई ब्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरलाई नियमित र अद्यावधिक गरेर सञ्चालन गरिँदैछ । कोभिड—१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष ०७८र०७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने, सबै करदाताहरूका लागि २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसै गरी घर धनीले बुझाउनुपर्ने बहाल कर रकमको १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन रकम कम हुन्छ सो रकम छुट हुनेछ । घरधनीले गरेको दावीलाई वडा समितिको निर्णयपछि छुट हुने छ । विभागका प्रमुख डा। अधिकारीकाअनुसार यस प्रावधानबमोजिमको बहाल करमा छुट प्राप्त गर्न सम्बन्धित घर धनी र बहालमा लिने प्राकृतिक वा कानुनी ब्यक्तिकाविच भएको बहाल सम्झौता अनिवार्य पेश गर्नु पर्नेछ ।

व्यवसायीले आफ्नो प्रयोजनका लागि सञ्चालन गरेको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशत छुट दिइनेछ । भिड हुने ठाउँ पहिचान गरेर महानगर र सेवा दिनेविच सम्झौता भएपछि यसैका आधारमा छुट हुनेछ ।

कुनै सेवाका लागि सेवाग्राहीले शुल्क दस्तुर तिरेको तर कुनै कारणले काम हुन नसकेको अवस्थामा ५ वर्षभित्र त्यस्तो शुल्कबाट सेवा लिने बेलाको शुल्कमा पहिले तिरेको शुल्क समायोजन हुने व्यवस्था गरिएको छ । सेवा लिनुनपर्ने भए शुल्क तिरेको ३ वर्षभित्र १५ प्रतिशत सेवा शुल्क कटाएर बाँकी रकम फिर्ता हुनेछ । यो व्यवस्था यसै वर्षदेखि सुरु गरिएको हो ।

यसै गरी दुई वा त्यो भन्दा धेरै ठाउँमा घर जग्गा वा सम्पत्ति भए त्यस्ता व्यक्तिले आफूलाई पायक पर्ने कुनै एक ठाउँबाट आफूले तिर्नु पर्ने सबै ठाउँको एकमुष्ट कर तिर्न सक्ने व्यवस्था गरिएको छ ।

आफ्नै नाममा सिनेमा घर दर्ता भएको हकमा त्यस्तो सिनेमा घरको सम्पत्ति करमा होटलसरह छुट दिइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend