काठमाडौं १४, पुस । केही समय अघि नेपाल शैक्षिक परामर्श संघ–इक्यानबाट बाहिरिएका सरोजकुमार बस्नेत नेतृत्व अन्तत पुरानै घरमा फर्किका छन् ।
आन्तरिक विवादको कारण छुटिएर गएका बस्नेत सहितको ४० जना सदस्यहरुको टोली पुनः इक्यान मै फर्किएका हुन् । उनीहरुलाई इक्यानको केन्द्रीय कार्यालयमा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले स्वागत गरे ।
पाण्डेले अविर, खादा र सदस्यताको प्रमाणपत्र सहित स्वागत गरे । बस्नेतलाई इक्यानको सल्लाहकारको जिम्मेवारी समेत दिइएको छ । बस्नेत यसअघि इक्यानको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

फर्किएका सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । उनले भने– ‘यो जुट्ने बेला हो, त्यसैले सबै एकैठाउँ उभिनु पर्छ, नीतिगत तहदेखि हरेक काममा एकजुट भएर अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा बोल्दै महासचिव शेषराज भट्टराईले उहाँहरु केही समय भ्याकेसनमा जानु भएको थियो, फेरि फर्किएर घर आउनु भयो भन्दै स्वागत गरेका थिए ।
सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । साथै उनले आफूहरुलाई इक्यानले गरेको स्वागतबाट निकै खुसी भएको समेत बताए ।उनले आगामी पुस २६ गते हुने साधारण सभामा भव्य बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend