सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अत्याधिक चिसोका कारण रौतहटमा चारजनाको ज्यान गयो

अत्याधिक चिसोका कारण रौतहटमा चारजनाको ज्यान गयो

रौतहट ८, पुष । चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन् । पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो ।

यसअघि पुस ३ मा गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको मृत्यु भएको हो । बैठा र माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी आएको बताएका छन् । तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उनको भनाइ छ ।

जिल्ला अस्पताल रौतहटका डा.कृष्ण साह भने पोष्टमार्टमबाट चिसोको कारण मृत्यु भएको रिर्पोट जिल्ला अस्पतालले दिन बताउँछन् । यसका लागि काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा मात्र पोष्टमार्टम हुने डा.साहको भनाइ छ । अत्यधिक चिसोको कारण विभिन्न रोगहरुले च्याप्ने गर्दा पनि मृत्यु हुने उनले बताए ।

विगतका वर्षहरुमा चिसोका कारण ज्यान गुमानेलाई सरकारले राहत दिँदै आएको थियो। प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन् । विपत व्यवस्थापन समितिको पहलमा सोमबार बडहर्वामा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी तथा आरडिसी नेपालको पहलमा ६० विपन्न परिवारलाई कम्बल वितरण, स्वास्थ्य परीक्षणलगायतको सेवा दिएको उनले बताए । जिल्लाका विभिन्न स्थानीय तहमा समितिले अति विपन्न परिवारलाई न्यानो कपडा तथा कम्बल वितरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले ५० भन्दा बढी स्थानमा वन कार्यालयको समन्वयमा दाउरा वितरण गरेको प्रहरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी छन् । अत्यधिक चिसो बढेपछि तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend