काठमाडौं २०, मंसिर । वैदेशिक रोजगार व्यवसायीहरुको साझा संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशस्थित नेपाली नियोगले गर्ने मागपत्र प्रमाणीकरण सहजीकरण गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण गराएको छ ।
खाडी मुलुकमा मागपत्र प्रमाणीकरणमा व्यवसायीले समस्या झेल्नुपरेको भन्दै सम्बोधनका निम्ति पहल गरिदिन आग्रह गरेका थिए । संघका महासचिव सुजित श्रेष्ठले व्यवसायीले राम्रा मुलुकबाट पनि कामदारको माग ल्याउने गरेको भएता पनि ति देशमा मागपत्र प्रमाणीकरण गर्ने नेपाली नहुँदा व्यवसायीले समस्या झेल्नु परेको बताए ।
त्यस्तै संघका सल्लाहकार किरणकिशोर घिमिरेले वैदेशिक रोजगारका समस्या समाधानमा श्रम मन्त्रालयले समन्वयकारी भूमिका नखेलेको भन्दै वैदेशिक रोजगार राज्यको निम्ति आवश्यकता होरहोइन भन्ने प्रस्ट नभएको बताए ।
उनीहरुले वैदेशिक रोजगारको मुख्य सरोकारवाला व्यवसायी भएता पनि नीति निर्माण गर्ने क्रममा भने राज्यले व्यवसायीलाई बेवास्ता गरेको गुनासो गरे ।
त्यस्तै संघका पूर्वअध्यक्ष बिमल ढकालले मागपत्र प्रमाणीकरणको नाममा विदेशमा रहेका नेपाली नियोगमा कार्यरत कर्मचारीले अनावश्यक दुःख दिने गरेको बताए ।
संघका अर्का सल्लाहकार प्रज्ञान न्यौपानेले विदेशमा रहेका नेपाली नियोगका कर्मचारी प्रविधिमैत्री हुने हो भने व्यवसायीका अधिकांश समस्या न्यूनीकरण हुँदै जाने बताए।
पटकपटक कामदार पठाउँदै आएको कम्पनीको मागपत्र प्रमाणीकरण गर्न समेत व्यवसायीले सास्ती भोग्नु परेको उनको भनाइ थियो।
व्यवसायीका मागका सम्बन्धमा मन्त्री ज्ञवालीले मागपत्र प्रमाणीकरणलाई थप सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए।
वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन नेतृत्वदायी भूमिका खेल्न संघका नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्दै उनले मुख्यरुपमा तीन सुझाव दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend