सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य भोलानाथ पोखरेललाई स्थानीय तह कर्मचारी संघ, नेपालको सम्मान

एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य भोलानाथ पोखरेललाई स्थानीय तह कर्मचारी संघ, नेपालको सम्मान

 

१० पौष, काठमाडौं ।नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य भोलानाथ पोखरेललाई स्थानीय तह कर्मचारी संघ, नेपालले सम्मान गरेको छ। संघको केन्द्रीय कार्यालय भृकुटीमण्डप, काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा पोखरेललाई सम्मान गरिएको संघका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो।

हालै सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा पोखरेलले समावेशी श्रमिक खुला तर्फबाट उम्मेदवारी दिँदै खसेको २ हजार २७ मतमध्ये १ हजार ५ सय २६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो।

नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका पोखरेलले सरकारी जागिरबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सरकारी जागिर छोड्ने निर्णयमा कुनै गुनासो नरहेको बताउनुभयो। उहाँले आफू श्रमिकको तर्फबाट निर्वाचित भएकाले श्रम र श्रमिकको भावनाको सम्मान हुने गरी केन्द्रमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खादा ग्रहण गर्दै पोखरेलले यो सम्मानले थप जिम्मेवारी बढाएको उल्लेख गर्दै स्थानीय तहका कर्मचारीका विषयहरू केन्द्रसम्म पुर्‍याउने आश्वासन दिनुभयो। कार्यक्रममा संघका अध्यक्ष नारायणप्रसाद शर्मा, उपाध्यक्ष जानुका श्रेष्ठ, महासचिव शम्भु बराललगायत पदाधिकारीहरूले खादा ओढाएर बधाई दिनुभएको थियो। बधाई प्रमाणपत्रको व्यहोरा महासचिव बरालले वाचन गरेर सुनाउनुभएको थियो।

यसैबीच, संघले आफ्ना संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठलाई पनि एमालेको केन्द्रीय लेखा आयोगको सदस्यमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गरेको छ। श्रेष्ठले १ हजार ७ सय ९० मत प्राप्त गरी उक्त पदमा निर्वाचित हुनुभएको हो। यद्यपि, उहाँ काठमाडौं बाहिर रहनुभएकाले सम्मान कार्यक्रममा सहभागी हुन सक्नुभएन।

संघको बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको पाँचौँ बैठक आगामी फाल्गुण ६ र ७ गते धनकुटाको भेडेटारमा गर्ने निर्णय पनि गरेको छ। समसामयिक विषयमा छलफल गर्दै बैठकको मिति तय गरिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend