काठमाडौं । नेपाल सहकारी संस्था लिमिटेडले आफ्नो ३०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शनिबार काठमाडौंको टंगालस्थित सफ्टेस्ट क्याफेटेरियामा सम्पन्न सभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षित आर्थिक विवरण तथा आगामी वर्षका नीति तथा कार्यक्रमसहित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
साधारण सभामा सञ्चालन समितिले सहकारीको हालको अवस्था, उपलब्धि, चुनौती र भावी लक्ष्य समेटिएको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको थियो। सभाले सहकारीको व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउँदै आगामी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सभाले सञ्चालन समितिको वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ भने आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षित आर्थिक विवरण पारित गर्दै लेखापरीक्षक नियुक्ति गरेको छ। यस्तै आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम स्वीकृत गरिएको छ। आन्तरिक नीति, नियमावली तथा कार्यविधिमा आवश्यक संशोधन, गत वर्ष गरिएका निर्णयहरूको प्रमाणीकरण, आगामी कार्यका लागि सञ्चालन समितिलाई अधिकार प्रदान, निर्णय पुस्तिकाबाट प्रतिनिधि चयन प्रक्रिया र विविध विषयमा छलफल तथा सुझाव संकलनसम्बन्धी प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित भएका छन्।
सभामा सहभागी प्रतिनिधिहरूले सहकारीको वित्तीय अवस्था, लगानी व्यवस्थापन, जोखिम नियन्त्रण, पारदर्शिता र प्रशासनिक सुधारका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
प्रतिवेदनअनुसार सहकारीले आगामी दिनमा सदस्य–केन्द्रित वित्तीय सेवा विस्तार गर्ने, कर्जा प्रवाह प्रणालीलाई थप प्रभावकारी बनाउने, सुशासन सुदृढ गर्ने तथा प्रविधिमैत्री सेवामा जोड दिने जनाएको छ। पारदर्शी कारोबार र वित्तीय स्थायित्वलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ।
सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्षले दीर्घकालीन लक्ष्य हासिल गर्न सदस्यहरूको सक्रिय सहभागिता र सहयोग अपरिहार्य रहेको बताए। उनले सहकारीको प्रगति, कर्जा व्यवस्थापनमा आएको सुधार र आपसी सहकार्यका लागि सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend