२८ मंसिर,ओखलढुङ्गा । धेरै विवाद र विविध कारणले लामो समयसम्म सुरु हुन नसकेको ओखलढुङ्गाको चर्चित पहिरे पुलको निर्माण कार्य आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरी खतिवडाले पुल निर्माण कार्य सुरु हुनुलाई महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। यस ऐतिहासिक क्षणको साक्षी बन्न पाउँदा आफू अत्यन्तै खुशी भएको र यो खुशी सबैसँग साट्न चाहेको उनको भनाइ छ।
उनका अनुसार प्रदेश सरकारले यही आर्थिक वर्षको बजेटमै पुल निर्माणका लागि स्रोत सुनिश्चित गरिसकेको भए पनि बाटो डाइभर्सनका क्रममा निजी जग्गा पर्ने विषयमा उत्पन्न समस्या कारण निर्माण कार्य सुरु हुन ढिलाइ भएको थियो। ती अवरोधहरू समाधान भएसँगै आजदेखि निर्माण कार्य अघि बढेको हो।
आजदेखि थालिएको पुल निर्माणले ओखलढुङ्गाको पश्चिम भू–भागका नागरिकहरूका लागि अत्यन्तै महत्वपूर्ण पूर्वाधारको रूपमा भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। यस पुलले दैनिक आवत–जावतलाई सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत उल्लेखनीय गति र उत्साह थप्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend